दफा १२५
प्रमाण बुझ्न तारिख तोक्ने
(१) देहायको अवस्थामा अदालतले दफा १२४ बमोजिम यकिन भएको ठहर गर्नु पर्ने कुराहरु समेत खुलाई आदेश पर्चा खडा गरी प्रमाण बुझ्ने तारिख तोक्नु पर्नेछः–
(क) अभियुक्तले दफा १२२ बमोजिम बयान गर्न इन्कार गरेमा,
(ख) प्रतिवादीले प्रतिउत्तरपत्र दाखिल नगरेमा,
(ग) अभियुक्त वा प्रतिवादीले आफू उपरको अभियोग वा दाबी पूरै वा आंशिक रुपमा इन्कार गरी बयान गरेमा वा प्रतिउत्तर दिएमा,
(घ) अदालतले दफा १२३ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क) वा (ख) बमोजिम प्रमाण बुझ्ने आदेश पर्चा खडा गरेमा,
(ङ) अदालतले उपयुक्त ठहर्याएको अन्य अवस्थामा ।
(२) उपदफा (१) बमोजिम प्रमाण बुझने तारिख तोक्दा अदालतले साक्षीहरु उपस्थित हुन र प्रमाणका लिखत तथा वस्तुहरु पेश हुन सक्ने समयको अनुमान गरी सम्भव भएसम्म चाँडो प्रमाण सङ्कलन हुन सक्ने गरी तोक्नु पर्नेछ ।
(३) कुनै मुद्दाको वादी पक्षले दफा १२३ को उपदफा (२) बमोजिम थप सबूद प्रमाण पेश गर्नको लागि समय माग गरेमा अदालतले उपदफा (१) बमोजिम तारिख तोक्दा सामान्यतया मुद्दा दायर भएको दुई महिनाभित्र प्रमाण बुझ्ने तारिख तोक्नु पर्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम प्रमाण बुझ्नको लागि तारिख तोक्ने आदेश गर्दा मुद्दामा बुझ्नु पर्ने सबै प्रमाणहरु सम्भव भएसम्म एकै पटक बुझ्ने आदेश गरी तारिख तोक्नु पर्नेछ ।
(५) उपदफा (१) वा (२) बमोजिम तारिख तोक्ने आदेश गरेपछि मुद्दाका सम्बन्धित पक्षले आपूmले पेश गर्नु पर्ने प्रमाण वा उपस्थित गराउनु पर्ने साक्षी अदालतमा तोकिएको तारिखका दिन पेश वा उपस्थित गराउनु पर्नेछ ।